'तिमीलाई हेरुँहेरुँ लाग्छ...'
कान्तिपुर संवाद्दाता
*
*
*
*
काठमाडौ, चैत्र २ - हेमजास्थित झोलुंगे पुलमा नायिका रेखा थापा नायक आयुष रिजालसँग पोजमा पोज मिलाउँदै थिइन् । 'सडक' फिल्मको गीत 'तिमीलाई हेरूँहेरूँ लाग्छ...' को छायांकन हुनु रहेछ । गर्मी सुरु भइसकेको छनक नायिकाको पहिरनले दिइरहेको थियो, उनको त्यो लुकले भने रमितेहरूको दिलमा गर्मीकै अनुभव गराइरहेको थियो । उनी गीतझैँ देखिइरहेकी थिइन्, 'तिमीलाई हेरूँहेरूँ लाग्छ...' ।
पहिरन निकै ग्ल्यामरस छ नि भन्ने जिज्ञासामा नायिकाले अनुहारमा हाँसो पोतिन् र भनिन्, 'कथाले मागेको यही हो ।' उनले के पनि सुनाइन् भने कथाले नमागे पनि उनी छोटो र खुला पहिरनमा आफूलाई सहज अनुभव गर्छिन् ।
आयुषसँग तालमा ताल मिलाउँदै रेखा नाच्न थालिन् । नायक घरिघरि झुक्किँदा यसो गरौं उसो गरौं भन्दै पोज सिकाउन पनि थालिन् । नृत्यनिर्देशक कविराज गहतराजले पनि यसमा सहज अनुभव गरिरहेका थिए । 'नृत्यमा अब्बल रेखाकै कारण कुनै पनि नृत्य निर्देशकलाई सजिलो महसुस हुन्छ,' उनले भने ।
केही दिनदेखि फेवा नगरीमा छायांकन भइरहेको प्रदीप श्रेष्ठ निर्देशित 'सडक' को यो गीत नायक आयुषले नायिका रेखालाई देख्नेबित्तिक्कै मन पराएपछिको सिक्वेन्समा थियो । रेखा सुटिङ अवधिभर थरिथरिका हट पहिरनमा देखिइरहिन् । सुटिङ स्पटमा सर्वसाधारणको भीड थियो । उनीहरू नायिकाको उत्तेजक हाउभाउ नियाल्न ठेलमठेल गर्दै थिए । बेलाबेला सट लिनसमेत हम्मे परिरहेको थियो ।
पोखराकै हरि बराल, पवन प्रजापती तथा पदम माकाजू निर्माता रहेको चलचित्रमा सडक बालबालिकाको मनोदशा देखाउन खोजिएको निर्देशक श्रेष्ठले बताए । आयुष सडक बालकको भूमिकामै छन् ।
