सुन्तलीलाई ब्ल्याकमेल गर्थे धुर्मुस
28/01/2010 04:33:00 राजेश राई

दुई दशकअघि उनी झापाको गौरादह माध्यमिक विद्यालयमा पढ्थे । घरको आर्थिक अवस्था एकदमै कमजोर थियो । बिहान भालेको डाकमा उठेर १० बजेसम्म हलो जोतेर विद्यालय जानुपर्ने बाध्यता थियो । यति दुःख भए पनि उनी पढाइमा तगडा थिए । घरमा एक अक्षर पढ्न नपाए पनि स्कुलमा पढेका भरमा उनी कक्षामा प्रथम हुन्थे ।
जति दुःख भए पनि उनी हाँस्न/हसाउन सक्थे । अझ हसाउन त उनी यति सिपालु थिए कि उनको हास्य कलाकारितामा सम्पूर्ण स्कुल अट्टहास लगाउँथ्यो । आफ्ना गुरु र साथीभाइका क्यारिकेचर जस्ताको तस्तै गरिदिन्थे उनी । स्कुलमा विभिन्न अवसरमा हुने कार्यक्रममा हँसाएर उनी चर्चा बटुल्थे । एकप्रकारले उनी स्कुलमा 'सेलिब्रेटी' नै थिए । खाजा खाने छुट्टी (टिफिन टाइम) हुनेबित्तिकै उनका साथीभाइ 'सीतारामसँग बसेर हाँस्ने' भन्दै उनका वरिपरि झुम्मिन्थे । सीताराम अर्थात् सीताराम कट्टेल 'धुर्मुस' को प्रतिभा देखेर उनका दौँतरी र गाउँका दाइहरू उक्साउँथे— ए सीते ! तँ काठमान्डू गइस् भने टिभीमा देखिने कलाकार बन्छस् ।
सबैले उनलाई काठमाडौंको टिभीमा देखिने कलाकारको सपना देखाउँदा उनी पनि उसैगरी हौसिन्थे । उनको मनै वशमा हुन्नथ्यो । सबैको उक्साहटले उनलाई हरिवंश आचार्य र सन्तोष पन्त बन्ने सपना देखाउन थाल्यो । सारा नेपालले देख्ने कलाकार बन्नु नै उनको जीवनको एक मात्र लक्ष्य बन्यो । 'हास्यकलाकार मेरो सानैदेखिको सपना हो,' उनले सुनाए, 'टिभीबाट एकचोटि हास्य अभिनय गर्न पाए के-के न हुन्थ्यो भन्ने लाग्थ्यो ।'
एसएलसी पास गरेपछि उनले काठमाडौं आउने निधो गरे । तर, पोकोपन्तुरा बोकेर काठमाडौं हिँडिहाल्न सक्ने स्थिति थिएन उनको । उनी घरका जेठा छोरो, चारजना भाइबहिनी र बाबुआमा पाल्ने जिम्मेवारी उनकै काँधमा थियो । उनलाई उनका बाबुआमाले काठमाडौँ जान दिएनन् ।
तर, उनलाई हास्यकलाकार बन्ने सपनाले यस्तरी हुत्यायो कि उनले बाबुआमाको अनुनय-विनयलाई यौटा कुनामा थन्काइदिए । यसरी परिवारलाई रुवाएर टिभीबाट अरूलाई हसाउने सपनाको भारी बोकेर काठमाडौं आए उनी । 'बाबुआमाको कुरा नसुनी एउटा ओढ्ने, एउटा तन्ना र अलिकति पैसा बोकेर काठमाडौं हानिएँ म,' उनले भने । सारा नेपाललाई हसाउने सपना बोकेर उनी काठमाडौं आइपुगेको रात नेपालको इतिहासमै सबभन्दा दुःखद र वियोगान्त घटना घट्यो । वीरेन्द्रको वंशै नाश हुनेगरी राजदरबार-हत्याकाण्ड भएको रात (०५८ जेठ १९) उनले काठमाडौं टेकेका थिए ।
सारा देश अब के हुने हो भन्ने चिन्ता र अनिश्चिततामा डुबेका वेला उनी राजधानी आइपुगेका थिए । एउटा कुम्लो र अलिकति पैसा बोकेर अरूलाई हसाउन आएका सीताराम स्वयंका भने रोदनका दिन सुरु भए । उनका दाँतरीले भनेजस्तो काठमाडौं खाल्डोमा 'ल आइज धुर्मुस, अब हसाउन थाल्' भन्दै कोही स्वागतार्थ उभिएका थिएनन् । काठमाडौं बाँच्नु सजिलो थिएन ।
अरूलाई हसाउन आएको सीतारामलाई अब भने आफ्नै हाँसो गुमेको थाहा भयो । भर्खर एसएलसी सकेको अल्लारेले जागिर पाउने सम्भावनै थिएन । न हास्यकलाकार बन्ने कुनै अवसर नै थियो । सडक नै उनको एकमात्र सहारा थियो । 'काठमाडौं आएपछि मेरो अभिनयको भुत झरिसकेको थियो, उनले आफ्ना संघर्षका दिन सम्भिmए, 'के खाने र कहाँ सुत्ने भन्ने समस्याले सताउन थालेको थियो । काठमाडौं छिरेपछि कलंकीको एउटा भाँडा-पसलमा ६ महिनासम्म भाँडा बोकेर पेट पालेँ ।'
काठमाडौंमा उनले भाँडा बोक्ने, भाँडा माझ्नेदेखि लिएर अनेक काम गरे । कहाँ सुत्ने, कहाँ खाने कुनै टुंगो हुन्नथ्यो । भोक र तिर्खा त उनले कति खेपे कति ! 'भोकले रन्थनिँदै काठमाडौंका सडक-सडक कति हिँडियो, हिँडियो,' उनले भने, 'ती दिन सम्भि“mदा अहिले पनि आँसु आउँछ ।' हामीसँग कुरा गर्दागर्दै चर्चित हास्य-टेलिशृंखला मेरी बास्सै का धुर्मुस भावुक भए र उनका आँखामा नभन्दै आँसु पनि आयो । सधैँ उट्पट्याङ गरेर अरूलाई हसाउने एउटा हास्यकलाकारका आँखामा आँसु देखेर हामीलाई कता-कता नमीठो लाग्यो । उसो त हास्यकलाकार पनि त मानिस नै त हो, दुःखमा उसका पनि त आँखा रसाउँछन् । तैपनि, हामीले धुर्मुस रोइहाल्लान् भन्नेचाहिँ सोचेका थिएनौँ ।
काठमाडौंमा उनले कति कष्टकर समय बिताएछन् भने एक पुरिया बिस्कुटले उनी दुई दिनसम्म धान्थे । 'भोकै बस्नु त सामान्य कुरो थियो,' जीवनसंगिनी कुञ्जना घिमिरे 'सुन्तली' सँगै अनामनगरमा भेटिएका धुर्मसले आफ्नी धर्मपत्नीतिर पुलुक्क हेर्दै सुनाए, 'थापाथलीको एउटा पसलमा उधारो नतिरेकाले साहुले दुई दिनसम्म थुनेर राख्यो ।' उनी कहिले भोकै बस्थे त कहिले साथीभाइकहाँ गएर छाक टार्थे । 'मजति दुःख झेलेर स्थापित हुने कलाकार नेपालमा अर्का छैन होला,' उनले लगभग दाबीको भाषामा भने ।
पहिलो वर्ष के खाने भन्ने चिन्तामै बिते पनि दोस्रो वर्षदेखि उनले छाक टार्ने समस्यासँग जुध्ने धेरै उपाय पत्ता लगाए । साहुका घरमा पानी बोक्ने, भाँडा बोक्ने, करेसाबारी खन्ने आदि काम गर्दै गौरादहबाट झोलाभरि बोकेर ल्याएको सपनालाई फेरि ब्युँझाउनतिर लागे उनी । निकै धाएपछि, उनले अवसर त पाए तर टिभीमा अनुहार भने देखाउन पाएनन् । निर्देशक मुकुन्द बस्ताकोटीको 'झमेला' हास्य-टेलिशृंखलामा उनले प्रहरीको भूमिका पाए । 'निकै समय धाएपछि झमेलामा प्रहरीको भूमिका पाएँ,' उनले सुनाए, 'अँध्यारोभित्र एक मिनेटजतिको प्रहरीको भूमिका थियो । न अनुहार देखाउन पाइयो, न बोल्नै ।'
त्यसपछि ६ महिना धाएपछि सन्तोष पन्तको हिजो आजका कुरामा एउटा संवाद बोल्ने अवसर पाए उनले । 'दलाललाई हात-खुट्टा भाँचेर लडाएर मार्नुपर्छ, छोड्नु हुँदैन,' यो टेलिशृंखलामा उनले बोलेको पहिलो संवाद हो । यत्ति संवाद बोल्न उनले ६ महिना धाएका रहेछन् ।
र, बिस्तारै उनको सम्पर्क बढ्दै गयो । जितु नेपालको गीताञ्जली, जिरे खुर्सानी हुँदै उनी मेरी बास्सैसम्म आइपुगे ।
मेरी बास्सैका यस जोडीसँग प्रेम-संवादका लागि गइएको थिए । तर, धुर्मुसले प्रेमभन्दा अघि काठमाडांैमा आफूले भोगेका दुःख सुनाउन चाहे । त्यसपछि मात्रै प्रेमका कुरा सुरु भए ।
हास्य-टेलिशंृखला मेरी बास्सैमा श्रीमान्/श्रीमतीको भूमिकामा देखिने धुर्मुस र सुन्तली वास्तविक जीवनमा पनि श्रीमान्/श्रीमती नै हुन् । पर्दामा श्रीमान्/श्रीमतीको भूमिका निर्वाह गर्दा-गर्दै यो जोडी एक वर्षअघि मात्रै वास्तविक जीवनमा पनि जोडी बनेको हो । हास्यक्षेत्रमा यो जोडी अहिले खुब जमेको छ । पर्दामा हास्य-जोडी धेरै भए पनि वास्तविक जीवनको जोडीचाहिँ धुर्मुस र सुन्तलीको मात्रै हो ।
धुर्मुस र सुन्तलीको पहिलो भेट लौन सतायो टेलिशृंखलाको सुटिङका क्रममा ०६१ साउन महिनामा भएको थियो । कुञ्जना उर्फ सुन्तलीलाई तिथिमिति पनि कन्ठै रहेछ । उनैले अघि सरेर भनिन्, 'मैतीदेवीमा पहिलोपल्ट भेट भएको थियो । दमन रूपाखेतीले निर्माण गरेको लौन सतायोको सुटिङमा हाम्रो भेट भएको थियो ।' उतिवेला सीताराम (धुर्मुस) व्यवस्थापनको काममा थिए । कुञ्जना अभिनयमा । धुर्मुसले सुन्तलीलाई पहिलोपल्ट देख्दा उनी गाडीभित्र मेकअप गरिरहेकी थिइन् । 'सेतो हाइनेक, कालो लेदर ज्याकेट र कालोे पाइन्ट लगाएकी उनी टिपटप मोडलजस्ती देखिन्थिन्,' उनले भने ।
पहिलो भेटमै सुन्तलीलाई चाहिँ धुर्मुसको बोलीले खुबै हँसायो रे । किन ? 'स्वर सुनेर,' सुन्तलीले सुनाइन्, 'उहाँको बोलीमा झापाली लबज थियो ।' धुर्मुसको बोलीले सुन्तली हाँसेकी थिइन्, तर धुर्मुसले भने उनको हाँसोलाई आफूप्रतिको आकर्षणका रूपमा बुझे । 'मलाई हेर्दै उनी मुुस्कुराएपछि भेटेकै दिन म बेचैन भएँ,' धुर्मुसले सुनाए, 'त्यो दिन रातभरि निद्रा लागेन । उनको अनुहार मेरा आँखामा आइरह्यो । उनलाई मेरै लागि भगवान्ले बनाएको जस्तो अनुभूति भयो ।'
लौन सतायोपछि उनीहरू दुवैले रेडियो नेपालबाट प्रसारण हुने रेडियो नाटक दिनप्रतिदिनमा सँगै काम गर्न पाए । सुन्तलीलाई भेटेदेखि नै धुर्मुसले सुन्तलीको सपना देख्न थालिसकेका थिए । सुन्तली भने बेखबर थिइन् । त्यसवेला धुर्मुसका सहकर्मी केदार घिमिरे 'माग्नेबूढा'ले उनलाई निकै उक्साए । 'पहिलो भेटदेखि नै मैले सुन्तलीलाई वान साइडेड लभ गर्न थालेको थिएँ,' धुर्मुसले सुनाए, केदारजी पनि जोडी मिल्छ भनेर मलाई उक्साइरहनुहुन्थ्यो ।' उतिवेला उनीहरूको भेट हप्तामा एकचोटि रेडियो नाटकको रेकर्डमा हुन्थ्यो ।
एक वर्षसम्म एकतर्फी प्रेम गरेपछि धुर्मुसले ०६२ भाद्रमा गाईजात्रा कार्यक्रम सकिएपछि सुन्तलीलाई मनको कुरा सुनाउने साहस बटुले र प्रेम-प्रस्ताव राखे । तर, उनको प्रेम-प्रस्ताव सुन्तलीबाट ठाडै अस्वीकृत भयो । 'मैले त त्यसवेलासम्म कल्पनासम्म गरेकी थिइनँ,' सुन्तलीले सुनाइन्, 'उहाँको प्रस्ताव सुन्दा मलाई अचम्म लाग्यो ।' सुन्तलीले प्रेम-प्रस्ताव अस्वीकार गरेपछि धुर्मुस पागलजस्तै बने । 'सुन्तलीले हुन्न भनेपछि म माइनस जिरो डिग्रीमा झरेँ,' हास्यशैलीमा उनले सुनाए, 'मेरो होसै हराएजस्तो भयो । आफ्नो वजन पाँच किलो घटेजस्तो लाग्यो ।'
ललितपुरकी स्थायी बासिन्दा सुन्तली आर्थिक रूपमा सबल नै थिइन् । तर, धुर्मुसको भने त्यसवेला न खाने टुंगो थियो, न बस्ने । सुन्तलीले उनलाई अस्वीकार गरे पनि उनले आशा भने मारेका थिएनन् । 'दिउँसो उनले अस्वीकार गरे पनि केही आशा भने थियो,' प्रेम-प्रस्ताव राखेको पहिलो दिन सम्भिmँदै उनले भने, 'साहुको पानी बोकिदिएबापत उसले मलाई फोन गर्न दिन्थ्यो । मैले बेलुका सुन्तलीलाई फोन गरँे । यसपल्ट पनि म अस्वीकृत भएँ ।'
तैपनि, धुर्मुस सुन्तलीको पछि लाग्न भने छोडेनन् । 'अनेकथरी भनेर सधैँ मलाई ब्ल्याकमेलिङ गर्न थालेपछि अभिनय क्षेत्र नै छोडूँ कि जस्तो पनि लाग्यो,' सुन्तलीले सुनाइन्, 'म दुःख पाएको मान्छेलाई सहारा देऊ भन्दै मेरो पछि लागिरहनुभयो ।'
दिनप्रतिदिन रेडियो नाटक सकिएपछि त्यही टिमले मेरी बास्सै हास्य-टेलिशंृखला निर्माण गर्ने भएपछि उनीहरूले सँगै काम गर्न पाए । सुरुमा मेरी बास्सैमा उनीहरू काका र भतिजीको भूमिकामा थिए । एक महिनापछि प्रेमी/प्रेमिकाका भूमिकामा खेल्न थाले । र, उनीहरूको नाम धुर्मुस र सुन्तली रहन गयो । मेरी बास्सैले भेटघाट र सम्पर्क बढाउँदै लग्यो । उनीहरूको जोडी पनि जम्दै गयो । त्यसपछि उनीहरू पत्तै नपाई एक-अर्कालाई माया गर्न थालेछन् । पछि चाहिँ कसले राख्यो त प्रस्ताव ? 'पछि त राख्नै परेन नि,' सुन्तलीले सुनाइन्, 'आफैँ प्रेम बस्यो ।'
***
यस जोडीको वैवाहिक जीवनचाहिँ कस्तो छ नि ? 'साहै् सुन्दर,' सुन्तली भन्छिन्, 'हाम्रो जोडी भगवान्ले जुराएको जोडी हो ।
हामी सधैँ सँगै हुन्छौँ । मलाई त यस्तो लाग्छ, हामीजति भाग्यमानी कमै होलान् ।'
धुर्मुस घरका जेठा छोरा । अभिनय गरेर घरको ऋण पनि तिरे उनले । 'हाम्रो परिवारलाईर् धेरै ऋण लागेको थियो । ऋण तिरेको दिन म खुसीले रोएँ पनि,' धुर्मुसले सुनाए, 'उनको सहयोग नभएको भए, यो सम्भव थिएन ।'
अहिले आफ्नो कमाइले उनीहरूले झापामा परिवार धानेका रहेछन् । वास्तविक जीवनको यो जोडी पर्दामा पनि जोडीकै भूमिकामा छ । रातदिन सँगै हुन्छन् । बिहेपछि कहिल्यै लामो समय टाढा बस्नुपरेको छ कि छैन ? 'एकचोटि उहाँ हङकङ जाँदा मात्रै,' सुन्तलीले सुनाइन्, 'त्यसवेला भोक पनि लागेन, निद्रा पनि लागेन ।' एक दिन भेट नहुँदा पनि दुवैजनालाई छटपटी हुँदो रहेछ । उनीहरू दुवैजना कपडा धुने, खाना बनाउने गर्छन् । बिहानको चिया बनाउने काममा चाहिँ एउटा सर्त रहेछ । जो अगाडि उठ्छ, उसैले चिया बनाएर बेडमा ल्याउने । धेरैजसो को अगाडि उठ्ने गरेको छ त ? 'उहाँ,' सुन्तलीले भनिन्, 'धेरैजसो उहाँले नै चिया बनाएर बेडमा ल्याउनुहुन्छ ।'
प्रेमी/प्रेमिका हुदा एकअर्काप्रति जति प्रेम हुन्छ, बिहेपछि त्यसमा कमी आउँछ भनिन्छ । यस जोडीको प्रेममा पनि त्यस्तै भएको त छैन ? 'बिहेपछि हाम्रो प्रेम झनै बढेर गएको छ,' सुन्तलीले सुनाइन्, 'बिहेअघिको भन्दा कैयौँ गुणा बढी !'
धुर्मुस सुन्तलीलाई आँसुपछिको हाँसो ठान्छन् । 'वास्तविक जीवनमा हाँस्ने ऊर्जा मैले उनीबाटै पाएँ,' सुन्तलीलाई धाप मारेर उनले भने, 'उनी पाएपछि मेरा सबै दुःख हराए ।'
writer_bhumiputra@yahoo.comतस्बिरः श्रीधर पौडेल/ नयाँ पत्रिका