tundikhel
X.Hero Member
Reputation : +57/-7
Posts: 8124
|
 |
« on: November 10, 2009, 11:10:30 PM » |
|
मैले दुई चड्कन हानेँ : राज्यमन्त्री करिमा बेगम
यो सिडिओ आएदेखि नै पर्साका जनताले चयनको सास फेर्न पाएका छैनन् । हत्या, हिंसा र अपहरणका घटना दिन दुईगुना रात चौगुना बढेका छन् । एक महिनामै चारवटा जघन्य घटना भए, अझ कतिपय घटनामा त प्रहरी-प्रशासनकै मान्छे पनि संलग्न भएको देखियो ।
म राज्यमन्त्री भएपछि धेरै जिल्ला गएँ, मन्त्री आउने थाहा पाएपछि सिडिओ फूलमाला लिएर 'एअरपोर्ट' आउँछन् । अरू मन्त्रीका पनि यस्तै अनुभव सुनेकी छु । तर, आफ्नै गृहजिल्लाको सिडिओ मात्तिएको पर्यो । एकपटक पनि एअरपोर्ट आएन, जनतालाई हैरान पार्यो, मलाई अपमान गर्यो ।
'एअरपोर्ट' मा स्वागत गर्न आएन । ठीकै छ भनेर मैले उसलाई पटक-पटक फोन गरेँ । जतिपटक म जिल्ला आएँ, उतिपटक फोन गरेँ । म गृहजिल्ला आएकी छु, भेट्न आउनोस् भनेर बोलाएँ । तर, उसले कहिले विराटनगर छु, कहिले काठमाडौं छु भनेर जवाफ दियो ।
जिल्लामा शान्ति छैन, मन्त्री आउँदा पनि सिडिओले 'रेस्पोन्स' गर्दैन । यस्तो के सिडिओ राखेको होला भनेर म आफैँ आश्चर्यमा थिएँ । केही दिनअघि प्रधानमन्त्रीले मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको बैठक डाक्नुभएको थियो । मैले गृहमन्त्रीलाई भनेँ, 'पर्सामा त्यस्तो के सिडिओ राख्नुभएको हो ? त्यसले त न जनताको मान गर्छ न मन्त्रीको ?' मेरो कुरा सुनेर गृहमन्त्रीले भन्नुभएको थियो, 'ठीक छ, म त्यसलाई कारबाही गर्छु ।'
गृहमन्त्रीले कारबाही गर्छु भन्नुभएको थियो, तर कारबाही भएको छैन । कारबाही होला भन्ने आशा थियो । यहीबीच मंगलबार गरिब तथा जहेनदार विद्यार्थीका लागि एउटा कार्यक्रम आयोजना भयो । प्रमुख अतिथिका रूपमा मलाई बोलाइयो, आफ्नै जिल्लामा हुने सामाजिक कामको उद्घाटन गर्ने अवसर मैले चुकाउने कुरै भएन ।
बिहान नौ बजे विमानस्थल पुगेकी थिएँ, तर गुण एअरको विमान १५ मिनेट 'डिले' भयो । सबा नौ बजे जहाज उड्यो । १० बजे विराटनगर पुगियो । विमानस्थलमा मेरा कार्यकर्ता थिए, तर सिअिडो थिएनन्, उनी आउलान् भन्ने आशा पनि थिएन यसपालि ।
म सरासर आफ्नै घर गएँ । घर पुगेर सिडिओलाई फोन गरेँ । मलाई कार्यक्रममा जानु थियो । मन्त्री आउँदा गाडी त जिल्ला-प्रमुखले नै मिलाउने हो । मैले त्यही आशा गरेँ । तर, फोन गर्दा सिडिओले अन्टसन्ट कुरा गरे । अन्तिममा एउटा गाडी पठाइदिए । तर, त्यो गाडी यति थोत्रो रहेछ कि चढ्दा मन्त्रीकै बेइज्जत हुने, देशकै बेइज्जत हुने ।
थोत्रो गाडी देखेर मैले सिडिओलाई फोन गरेँ । 'तपाईं कहाँ हुनुहुन्छ ?' मेरो प्रश्न थियो । 'म त बाहिर छु,' उनले जवाफ दिए । 'तपाईं बाहिरै भए पनि ठीकै छ, तर म तपाईंको कार्यालय आउँदै छु' यति भनेर म जिल्ला प्रशासन कार्यालय गएँ ।
जिल्ला प्रशासन कार्यालय परिसरमा एकजना उभिएका थिए । मैले उनलाई सोधेँ, 'सिडिओ खोइ ?' मैले जसलाई सोधेँ सिडिओ उनै रहेछन् । उनी नम्र थिएनन् । मै हुँ सिडिओ, किन खोज्नुभयो भन्दै ठाड्ठाडो कुरा गर्न थाले ।
वादविवाद हुँदै हामी उनको कार्यकक्षमा गयौँ । 'तपाईंले मन्त्रीलाई गर्ने व्यवहार यही हो ?' मैले प्रश्न गरिरहेँ । तर, उनी मन्त्रीसन्त्री यस्तै हुन् भन्दै मुखमुखै लागिरहे । मेरो प्रश्नको जवाफ दिएनन्, उल्टै थर्काउन खोजे ।
उनले मलाई पटक-पटक आँखा देखाए । मैले आँखा नदेखाउनोस् भनेर चेतावनी दिएँ । उनले पटक-पटक औँला ठड्याए । मैले औँला नठड्याउनोस् भनेर चेतावनी दिएँ । मैले चार-पाँचपटक चेतावनी दिँदा पनि उनले टेरेनन् । मुख-मुखमा औँला ल्याए । मैले त्यसपछि आफूलाई थाम्न सकिनँ, औँला च्याप्प समातेर निमोठिदिएँ, झपाझप दुई झापड चड्काइदिएँ ।
म आवेगमा थिएँ, दुई झापड हान्दा पनि मेरो रिस अझै मरेको थिएन । तर, मलाई मेरा कार्यकर्ताले समाते । छोडिदिनुहोस् भनेर सम्झाए, बाहिर ल्याए । नत्र अझै बबाल हुन्थ्यो ।
मैले गाडीका लागि हात उठाएँ, त्यो त एउटा मात्र कारण भयो । तर, मुख्य कारण त्यो होइन । खासमा त पर्साका जनता असुरक्षित छन्, सिडिओलाई मतलबै छैन । जनताको कुरा सिडिओ सुन्दैनन् । मन्त्रीको पनि सुनेनन् । त्यसैले चड्कन खाए ।
आफ्ना हाकिम कुटिएको भनेर कर्मचारीले आन्दोलन गर्ने भनेका छन् । म त जनप्रतिनिधि, जनताका तर्फबाटै सिडिओ कुटेकी हुँ । माफी माग्ने कुरै छैन । परेको बेहोर्छु ।
यस घटनापछि प्रधानमन्त्री, गृहमन्त्रीसँग कुरा भएको छैन । हाम्रो पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले फोन गर्नुभएको थियो । के गर्नुभयो तपाईंले यस्तो भनेर रिसाउनुभयो । उहाँ मेरो अध्यक्ष, डाँट्नु (झपार्नु) भयो । त्यो ठीकै छ । तर, कर्मचारीको दबाबमा म माफी माग्दिनँ । मैले जे गरेँ, ठीक गरँ ।
|