
विपनासँग वार्तालाप
फूलमान वल
काठमाडौ, माघ २८ -
'म त्यति मोटी त भा' छैन नि हगि ?' बुधबार साँझ कौशलटारस्थित एउटा पार्टी प्यालेसको विवाह भोजमा भेटिएकी नायिका विपना थापाले सुरुमै भनिन्, 'भाषाचाहिँ अलिअलि हिन्दी लवज गइसकेको छ है ।' डेढ वर्षअघि विवाह भएर भारत, मथुरा पुगेकी नायिका रातो साडीको सप्को मिलाउँदै बाहिर निस्किन्, काखमा तीन महिनाको छोरोसहित ।
'यसको नाम कुश' मामाको छोरा सुरेन्द्र खडकाको विवाहका लागि चार दिनअघि मथुराबाट आइपुगेकी विपनाले भनिन्, 'ब्राह्मणले राखिदिएको नाम । हाम्रो तर्फबाट नाम राख्नै बाँकी छ ।' यसपछि विपनाले छोरालाई आफन्तको हातमा सुम्पिन् र कुराकानीका लागि तयार भइन् । यहीबेला नातामा भाइ पर्ने गणेश थापा बाइकबाट झर्दै सरासर विपनालाई ढोग्न केही निहुरिए । विपनाले गणेशको हात समाउँदै भनिन्, 'खुस रहो ।' 'खुस रहो' फुत्किनासाथ विपना केही सम्हालिइन् । 'अमेरिका जानेहरूको लवजमा अंग्रेजी मिसिएजस्तै त हो नि,' त्यसपछि विपना बोलिन्, 'केही महिना भारत घुमेर आउनेहरूको मुखमा त 'अरे र परे' जोडिएको हुन्छ, मेरो त घरै उता ।' श्रीमान् डा.आशुतोष भारद्वाजसँग भने उनी नेपाली नै बोल्दिरहिछिन् । मेडिकल साइन्स अध्ययनका लागि लामो समय काठमाडौं बसेका भारद्वाज अहिले दिल्लीमा छन्, टेलिफोन कुराकानी पनि नेपालीमै हुन्छ । 'उहाँ मलाई नेपालीमै बोल्न उक्साउनुहुन्छ,' विपनाले भनिन्, 'घरमा त मुस्किलले वर्षको एक महिना जति नेपालीमा कुरा हुन्छ होला ।'
भाषाका कुरा यहीं थाती राखेर एकछिन मथुरातिरै लागौं, जहाँ सासू र सरकारी सेवाबाट रिटायर्ड ससुरा, देवरहरूसहितको ९ जनाको परिवारमा विपनाको दैनिकी बित्ने गर्छ । 'राजनीतिक पृष्ठभूमिका परिवार भएकाले पनि मलाई सजिलो छ,' विपनाले भनिन्, 'कुरा बुझ्ने परिवार भनौं न । टोटल्ली फ्लेक्जिबल क्या ।' श्रीमान् आशुतोष मथुरा कंग्रेसका अध्यक्ष । काका श्यामसुन्दर शर्मा पूर्वमन्त्री । 'मेरो इच्छा र आकांक्षालाई सबैतिरबाट बल मिलिरहेको छ,' उनले भनिन्, 'म जे चाहन्छु त्यो पूरा हुन्छ ।' सासूसमेत साथीजस्तै भएको अनुभव सुनाउँदै विपनाले थपिन्, 'सबैले विपना के चाहन्छे सोध भन्छन् उहाँ (पति) लाई ।'
यति हुँदाहुँदै पनि विपनाले डेढ वर्ष घरभित्रै बिताइन्, बुहारीको रूपमा, पत्नीको रूपमा र गृहिणीको रूपमा । उनले यसलाई 'विवाहपछि थपिएको रेस्पन्सिबिलिटी
(दायित्व) को परिभाषा लगाइन् । 'अभिनय हैन, साँच्चिकै जीवनमा छु नि,' उनले भनिन्, 'पत्नी भएँ, बुहारी र आमा बनें । रेस्पन्सिबिलिटी बढेको छ ।'
काठमाडौंको याद आएन त ?
कलंकी स्युचारटार माइती भएकी विपना एकैछिन घोरिइन् । 'अहँ आएन,' उनले भनिन्, 'बितेका वर्षहरूमा म नेपाली फिल्म उद्योगमा यति व्यस्त भएँछु कि रेस्ट (आराम) बारे त मैले सोच्नै भ्याएकी रैनछु । यो डेढ वर्ष त छुट्टी मनाएको जस्तो पो लागिरहेको छ । टोटल्टली रेस्ट ।'
यतिन्जेल वरिपरि नायिकाका फ्यानहरू झुम्मिसकेका छन् । केही पर स-साना केटाकेटीहरूले 'आफ्नो मान्छे' फिल्मको गीत 'चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा...' गाउँदै विपनालाई जिस्क्याए झैँ गरे । विपनाचाहिँ सपनाजस्तो विगत सम्भिन थालिन् ।
पन्ध्र वर्षअघि उनी बाटोमा हिँडिरहेकी थिइन्, निर्देशक मोहन निरौला 'साबुनको विज्ञापनमा खेल्ने केटी तिमी नै हैन ?' भन्दै बोल्न आइपुगे । त्यतिन्जेल विपना दीपक श्रेष्ठबाट अभिनयको आधारभूत कोर्स सिकेर केही विज्ञापनमा देखिइसकेकी थिइन् । मोहन अब फिल्मको प्रस्तावका लागि विपनाको घरैमा पुगे । उनकै फिल्म 'जन्मभूमि' बाट अभिनय थालेकी विपनाले त्यसयता कहिल्यै पछाडि फर्किनु परेन । झन्डै डेढ दशकमा १ सय १५ भन्दा बढी फिल्म हात पर्यो, तीमध्ये अधिकांशले राम्रै बजार लियो ।
'अँ एउटा कुरा सम्झेँ,' विपना बोलिन्, 'त्यो पहिलो फिल्ममा गर्भवती भएको 'सिन' । त्यो सिन खिच्दा लाजले म निकै रोएकी थिएँ । सीतापाइलामा सुटिङ थियो, वसुन्धरा भुषाल दिदीले ठूलो पेट बनाएर मलाई घरबाट निकाल्नुभो, वरिवरिका सबैले चिन्थे, मथुरा छँदा मैले त्यो क्षणलाई निकै सम्झेँ, त्यो एउटा अभिनयमात्र थियो ।'
'अभिनय र वास्तविकताको अनुभूति ?' तस्बिर लिइरहेका सहकर्मी नवराज वाग्लेले फुत्काइहाले । 'हेर्नुस्, अभिनयमा थुप्रैपटक बेहुली बनेकी छु । तर त्यो 'कट' भनेपछि त्यहीँ टुंगिन्छ,' विपना हाँसिन्, 'जीवनमा चाहिँ त्यो 'कट' र 'रिटेक' भन्ने नै नहुने रहेछ । हा..हा..हा । केही क्षण हाँसो चल्यो । तर लगत्तै विपना केही गम्भीर भइन् । 'फिल्म मेरा लागि दोस्रो जन्म थियो,' आफूलाई विपना थापाको पहिचान फिल्म उद्योगले नै दिएको बताउँदै ३० वषर्ीया नायिका बोलिन्, 'नेपाली फिल्म उद्योगलाई जीवनभर भुल्दिनँ, किनभने फिल्मले मलाई नाममात्रै हैन, हस्ब्यान्ड (पति) पनि दिलायो ।'
उनी झन्डै ६ वर्षअघिका क्षणतिर फर्किइन् । मथुराबाट मेडिकल साइन्स पढ्न काठमाडौं आएका आशुतोष अत्तरखेलस्थित आनन्द ढकालको घरमा डेरा लिएर बसेका थिए । आनन्द र आशुतोष मिलेर 'वरमाला' फिल्ममा लगानी गर्ने योजना बन्यो, नायिका छानिइन् विपना । 'उहाँले मलाई मन पराइसक्नुभएको रहेछ,' विपनाले प्रेमजीवन सम्भिन्, 'आमाले जस्तै केयर गर्ने स्वभाव र कामप्रतिको गम्भीरताका कारण मनपराएको भन्नुहुन्थ्यो, खै कुन्नि...।'
त्यसको पाँच वर्षपछि विपना बेहुली बनेर भित्रिइन् मथुराको एउटा ब्राह्मण परिवारमा । 'फिल्ममै निरन्तरता दिने भए नि देऊ भन्छ घरले त,' अनुहारतिर झरेको कपाल हल्का मिलाउँदै विपना बोलिन्, 'अहिले कुनै सोचाइ छैन । तर फिल्म क्षेत्रबाट टाढाचाहिँ रहन्न होला ।'
साँझले छोप्दै जाँदा विपना केही हतारिइन् । विवाहको पार्टी सकाएर उनी स्युचाटारस्थित माइतीघर पुग्नु छ, जहाँ दुई हप्ता बस्नेछिन् । 'यता (काठमाडौं) को गाडी बेचिहालियो,' उनले भनिन्, 'माइक्रो बस रिजर्भ गरेर आएकी, धुलीमाटी पो भएँ ।' पार्टी प्यालेसभित्र हिन्दी गीत बजिरहेको छ, विपना डान्सिङ मुडमा भीडतिर पसिन् । 'काठमाडौंलाई कहिल्यै भुल्दिनँ,' छुट्टिनबेला उनले भनिन्, 'बेलाबेला आइहरन्छु नि ।'